मिथिलाञ्चलमा चैते छठ आज बाट सुरु
महोत्तरी । मिथिलाञ्चलमा चैते छठ आजबाट शुरु भएको छ। शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा धुमधामका साथ छठोत्सव मनाइन्छ ।
छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजा आराधनाका साथ छठ मनाइन्छ।
छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ।पारिवारिक सुख, शान्ति, समृद्धिको लागि श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतालुले नहा खा अर्थात् नुहाएर भोजन गर्नुहुन्छ । पर्वको दोस्रो दिन भोलि शनिबार खर्ना मनाइन्छ । खर्नाका दिन व्रतालु दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्छन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ।
त्यस्तै षष्ठीका दिन पर्सी आइतबार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्नुहुन्छ।
षष्ठीका दिन व्रतालुले अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गर्ने परम्परा छ। त्यसको भोलिपल्ट सप्तमीको बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्याएर सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न गर्ने विधि रहेको छ।
प्रतिक्रिया राख्नुहोस्