पोखरा रोयल सहकारीद्वारा सहकारी पुरस्कारको लागि १ लाख ११ हजार हस्तान्तरण

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । जिल्ला सहकारी संघ लिमिटेड कास्कीलाई ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले जिल्ला सहकारी संघ लि.कास्कीका अध्यक्ष एवं ६७ औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष सावित्रा कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
कास्की जिल्लामा क्रियाशील सहकारी संस्थाका अध्यक्षहरू मध्ये उत्कृष्ट काम गर्ने एक जना अग्रज सहकारीकर्मीलाई अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा सम्मान एवं पुरस्कृत गर्न यो कोषको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताउनुभयो ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष स्व.मेजर तुलसीप्रसाद गुरुङको सम्झनामा स्थापित उक्त कोषले यहाँको सहकर्मी अग्रजहरू र सहकारीमा लाग्ने असल अभियानकर्मीहरूको लागि थोरै भएपनि सम्मान दिलाउने कार्य हुन सक्ने प्रमुख कार्यकारी अधिकृतले जनाउनु भयो ।
पोखरा रोयल बचत तथा ऋण सहकारीले यस भन्दा अगाडि देखि राष्ट्रिय सहकारी पुरस्कार, क्षेत्रीय पत्रकारिता पुरस्कार, प्रतिभा पुरस्कार तथा विभिन्न विधामा दर्जनौँ स्रष्टा तथा सहकारी अभियन्ताहरूलाई पुरस्कृत गर्दै आइरहेको र हाल स्थापित पुरस्कार कोषले जिल्ला सहकारी मार्फत असल र सफल सहकारी अभियन्ताहरूको कामको मूल्याङ्कन गर्दै सम्मान गर्ने संस्कार वृद्धि हुने विश्वास गरिएको छ ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष मे.तुलसीप्रसाद गुरुङको २०८० श्रावण ६ गते ८४ वर्षको उमेरमा निधन भएको थियो । मेजर तुलसीप्रसाद गुरुङले संस्थामा करिब २० वर्ष अध्यक्षको रुपमा योगदान दिएको संस्थाका सूचना अधिकारी एवं मुख्य प्रबन्धक मीलन ढकालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्