तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आजपनि प्रतिनिधि सभाको बैठकमा सहकारीको रकम हिनामिनाका विषयमा प्रभावकारी छानविन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

बैठकमा सभामुख देवराज घिमिरेसँग समय माग गरी कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।

बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद एकनाथ ढकालले मुग्लीन सडकखण्डमा भएको सडक दुर्घटनामा गोरखा जिल्लाको एउटा परिवार नै परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन माग गर्नुभयो । 

उहाँहरूले देशका विभिन्न भागमा बढिरहेको सडक दुर्घटना रोक्न र न्युनिकरण गर्न गम्भीर बन्न आग्रह गर्नुभयो । 

ध्रुवबहादुर प्रधान र अशोक कुमार चौधरीले हावाहुरी र असिना पानीका कारण कृषि बाली नष्ट हुँदा किसान मारमा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र राहत प्रदान गर्न माग गर्नुभयो । 

बैठकमा सांसदहरुले सुशासन, सवैमा न्यायको पहुँच पुग्नु पर्ने, अर्थतन्त्रको सुधार, सहकारीको रकम हिनामिनाको छानविन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले भौतिक पूर्वाधारको निर्माण, किसानलाई राहत, हावाहुरी, आगजनी लगायतले पुराइरहेको क्षतिबारे जानकारी गराउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button