बजेट अभावमा गुल्मीको छल्दी–ठाढुंगा सडक निर्माण सुस्त

गुल्मी । गुल्मीमा बजेट अभाव भएको भन्दै छल्दी–ठाढुंगा हुँदै इस्मा सम्म पुग्ने सडक निर्माणको काम सुस्त गतिमा हुँदै आएको छ । जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–२ छल्दी हुँदै वडा नम्बर–३ ठाढुंगा इस्मा जाने सडकको छल्दी–ठाढुंगा सडक निर्माणको काम सुस्त गतिमा भएको हो । ग्रामीण क्षेत्रमा पुग्ने सहायक राजमार्गको रुपमा रहेको उक्त सडक भएर छल्दी बाट, गुरुवा, हस्ति चौर, मल्दी, उजुङ, ठाढुंगा, इस्मा अर्जै लगायतका विभिन्न ठाउँमा पुग्ने सडकसँग सडक जोडिएको छ ।
सडक डिभिजन पाल्पा कार्यालय मार्फत काम भइरहेको छल्दी–ठाढुंगा सडकको ५।६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । सडकको हालसम्म ३ किलोमिटर क्षेत्रमा स्तरोन्नतिको काम केही मात्रामा भएको सडक डिभिजन पाल्पाका इन्जिनियर सागर पोखरेलले बताउनुभयो । सडकमा अघिल्लो वर्ष केही काम भएपनि यसवर्ष भने खासै काम भएको छैन । २०७९ वैशाख २६ गते सम्झौता भएको सडकको २०८१ वैशाख २५ गते सम्पन्न गर्ने सम्झौता रहेको थियो । सडक निर्माणको सम्झौता सकिन एक महिना मात्रै बाँकी रहँदा २५ प्रतिशत मात्रै काम भएको छ ।

केही महिना यता निर्माण व्यवसायीले सडकमा बजेट अभावले काम गर्न नसकिएको भन्दै कामलाई अत्यन्तै सुस्त मात्रामा कामदार परिचालन गर्ने गरेका छन् । रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभी मार्फत काम भइरहेको सडकको चैतको पहिलो सातासम्म २५ प्रतिशत भौतिक प्रगति र १८ प्रतिशत वित्तीय प्रगति भएको छ । सडक निर्माणका लागि २४ करोड ७२ लाखको लागतमा निर्माण गर्ने गरि सम्झौता भएको थियो । सडक निर्माणको लागि यश आर्थिक वर्षमा १ करोड रकम मात्रै विनियोजन भएको थियो । सडक निर्माणमा पर्याप्त बजेट नहुँदा निर्माणको काम हुन नसकेको इन्जिनियर पोखरेलले बताउनुभयो ।
निर्माण व्यवसायीले काम गरेको बिल अनुसार भुक्तानी गर्न नसकिएकाले काम बिचैमा रोकिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।सडक निर्माणको काम भने सुस्त गतिमा हुँदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ । सडक बिस्तारको क्रममा केही ठाउँमा जथाभाबी गर्दा घरहरू जोखिममा समेत परेका छन् । सडक बिस्तारको क्रममा केही ठाउँमा पानीका मुहानहरू समेत जोखिममा छन् । वर्षातको समय नजिकिन थालेसँगै सडक निर्माणको काम रोकिदा त्यस सडक भएर चल्ने सवारी साधन तथा यात्रुले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्