विवादित विषयमा जोडिएका व्यक्ति मन्त्री रहेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि सहकारीको ठगी लगायतका विवादित विषयमा जोडिएका व्यक्ति मन्त्री रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकको सुरुमा समय माग गरी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अनुसन्धानको घेरामा रहेका व्यक्ति अनुसन्धानकै नेतृत्व गर्ने थलोमा बस्नु उचित नहुने भन्दै नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभयो ।
उहाँले विवाद र प्रश्नको घेरामा रहेको कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगर्दासम्म सदनमा निरन्तर प्रश्न उठाइरहने पनि बताउनुभयो ।
बैठकको आकस्मिक समयमा सांसदहरु सुदन किराती र अम्बरबहादुर रायमाझीले उदयपुरलगायत देशका विभिन्न भागमा भएको सडक दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले सवारी दुर्घटनाका विषयमा गम्भीर भएर समस्या समाधानतर्फ लाग्न आग्रह गर्दै दुर्घटना न्यनिकरणका लागि मापदण्ड अनुसार गुणस्तरीय पूर्वाधार निर्माणसँगै सबैलाई जिम्मेवार बन्न जनचेतना जगाउनु पर्ने बताउनुभयो ।
बैठकमा सांसदहरूले सडक दुर्घटना बढेको, हुलाकी राजमार्ग लगायतका सडक पूर्वाधार स्रोत साधनको अभावमा द्रुत रुपमा काम हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले देनभरका सरकारी अस्पतालको अवस्था राम्रो नभएको र बिरामीहरू नीजि अस्पताल जान बाध्य बन्नु परिरहेको भन्दै सरकारी अस्पतालमा पर्याप्त जनशक्ति र पूर्वाधारको विकास गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा दोषी देखिएका व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्