तपाईँ सुन्दै हुनुहुन्छः

बौद्ध विश्वविद्यालय विश्वकै आर्कषण : पौडेल

देवदहमा एक खर्बको परियोजना सञ्चालन गरिँदै

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ ।

देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पदाधिकारीहरूले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया शुरु भएको बताएका हुन् ।

भवनको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताउनुभयो । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने उहाँले बताउनुभयो ।

बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै उहाँले विश्वविद्यालयलाई मुलुककै नमुना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताउनुभयो ।

पूर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताउनुभयो । देवदह शैक्षिक ग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्ने गरी सुविधा सम्पन्न संरचनाहरू निर्माण हुने बताउनुभयो ।

विश्वविद्यालयका रजिस्टर डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको बताउनुभयो । उहाँले देवदहमा ९२ बिगाहा जमिन प्राप्तिका लागि ६ वर्ष सङ्घर्ष गरेको स्मरण गर्दै उहाँले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिबद्धता पूरा गर्दै लगिने बताउनुभयो ।

विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् । रङ्गशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रस्टी बनाउने जनाएको छ ।

रजिस्टर डा. तिलकराम आचार्यले पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिबद्धता जनाइसकेको बताउनुभयो । यो संरचना बन्दा विदेशी विद्यार्थीहरू पढ्नका लागि नेपाल आउने वातावरण सिर्जना हुने उहाँले बताउनुभयो ।

सोमबार उद्घाटन गरिएको भवन झण्डै सवा सात करोडको लागतमा आठ महिनामै तयार भएको हो । एक वर्ष निर्माण अवधि रहे पनि कम्पनीले समयावधि अगावै निर्माण सकेको भन्दै सम्मान गरिएको थियो ।

देवदहमा भवन निर्माणसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button