तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा लिजेन्ड कप टी–१० प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा नेपालका क्रिकेट क्षेत्रका हस्तीहरू सहभागी लिजेन्ड कप टी–१० प्रतियोगिता सुरु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं १७ पूर्व दरखसवामा नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरूप एक्स्ट्राटेक लिजेन्ड कप टी–१० प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभयो ।  

पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ । सन् १९९६ को टीमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टीमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खड्काले गरिरहेका छन् । पारसको टीमले फिल्डिङ गर्दैछ । 

उद्घाटनमा सहभागी स्थानीय तह, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले वैदेशिक रोजगारीमा अस्ट्रेलियामा रहेका व्यक्तिको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरेर प्रतियोगिता आयोजना गरिएकोमा प्रशंसा गरेका छन् । 

कार्यक्रममा रुपन्देहीबाट सङ्घमा प्रतिनिधित्व गर्ने विष्णु पौडेल, छविलाल विश्वकर्मा, वासुदेव घिमिरेका साथै गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र गोकर्ण विष्टले नीजि लगानीमा रंगशाला निर्माणले वैदेशिक रोजगारीमा रहेर मुलुकमा केही गर्न चाहने युवालाई प्रोत्साहन गर्ने बताउनुभयो ।

एक दिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार वटा टोलीले प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी छन् ।

लिजेन्ड्स ९६ बाट एलवी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिषराज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, बसन्त शाही, किरण राणा, जगत टमटा, पुकार पन्त, विशाल गुप्तालगायत सहभागी छन् ।

यसैगरी, पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नविन घिमिरे र अविनाश कर्ण लगायत रहेका छन् ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन रेस्ट अफ नेपालको नेतृत्व विनोद दासले गरेका छन् । दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर खेलाडीहरू छन् ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहितका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरू रहेका छन् ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ ।

यो प्रतियोगिताको आयोजना गरेको एक्ट्राटेकका प्रबन्धक विनो कुँवरले नेपालको क्रिकेट इतिहासमा यो विशेष दिनको रुपमा रहने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button