तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ : नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम–लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको बताउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले राष्ट्र निर्माणमा बहुसङ्ख्यक जनता कम्युनिष्ट नेतृत्वको पक्षमा रहेको अवस्थामा वाम–लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेको बताउनुभयो ।

समकालीन राजनीतिक परिस्थितिमा वामपन्थी ध्रुवीकरणको सम्भावना बढेको बताउँदै नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिविम्बित गर्न आफ्नो पार्टी पनि सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले संसद्मा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनुको आवश्यक रहेको औँल्याउँदै नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको प्रष्ट पार्नुभयो ।

विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै नेता खनालले भूराजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बनिरहेकाले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्तुलित विदेश नीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा सङ्गठन सुदृढीकरणमा योगदान गरेका नेतालाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button