इटहरी गोल्डकपको १४ औँ संस्करण चैत्र १० गतेदेखि हुने
सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करण चैत्र १० गतेदेखि हुने भएको छ ।
आयोजक राष्ट्रिय जागृति क्लबले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी इटहरी रङ्गशालामा हुने प्रतियोगिता आगामी चैत्र १० गतेदेखि १९ गतेसम्म रात्रिकालीन समयमा प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो ।

प्रतियोगितामा २ भारतीयसहित १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।
इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्च ब्वाईज युनाईटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने छ ।
क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कोसी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको क्लबका अध्यक्ष डुम्जनले जानकारी दिनुभयो । स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २४ लाख सङ्कलन हुने बताइएको छ । प्रतियोगितालाई कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्