सङ्घीयता कार्यान्वयनमा प्रदेश सरकार केन्द्रित : मुख्यमन्त्री यादव
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा सङ्घीयता मधेश प्रदेशकै जनताले ल्याएको हुँदा मधेशी जनता सङ्घीयता विरोधी हुन नसक्ने बताउनुभएको छ ।

उहाँले काठमाडौँमा बसेर सङ्घीयता खारेजीको माग गर्नुको कुनै तुक नभएको बताउँदै सङ्घीयता कसैले दानमा दिएको होइन आन्दोलनबाट प्राप्त भएको हो भन्नुभयो । आज वीरगञ्जमा आयोजित मुख्यमन्त्रीसँग सिधा कुरा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सङ्घीयता कार्यान्वयनमै प्रदेश सरकार बढी केन्द्रित भएको बताउनुभयो ।
मुख्यमन्त्री यादवले वीरगन्जमा गत वर्ष प्रदेश सरकारले विद्युतीकरण र सौन्दर्यीकरणका लागि २९ करोड रुपैयाँ दिएको उल्लेख गर्दै यसपटक वीरगन्जको विकास देखिने गरी योजना राख्न लगाउने दाबी गर्नुभयो ।
उहाँले प्रदेशमा प्रहरी र कर्मचारी समायोजन गरेमा भ्रष्टाचार र अनियमिता रोकिने दाबी गर्दै आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका योजना पूर्ण रुपमा कटौती हुने दाबी गर्नुभयो ।
उहाँले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै सिँचाइका लागि यस वर्ष मधेशका ८ जिल्लामा कुलो, पैनी, डिपबोरिङ जडानका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री यादवले प्रदेशको शिक्षाका लागि बहुवर्षीय रुपमा तीन वटा विश्वविद्यालयलाई पर्याप्त बजेट विनियोजन गरेको दाबी गर्दै वीरगन्जमा स्थापित मधेश विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा एक अर्ब रुपैयाँ दिन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक तथा आर्थिक विश्लेषक प्राध्यापक विनोद गुप्ताले मधेशका समस्या पहिचान गरी समय सापेक्ष रुपमा विकास निर्माण हुन नसक्दा जनतामा निराशा छाएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जनार्दनसिंह क्षेत्री, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, कांग्रेस नेता प्रकाश उपाध्याय, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, डा.दिपेन्द्र चौधरी लगायतका वक्ताहरूले मुख्यमन्त्री यादवलाई प्रश्न गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्