तपाईँ सुन्दै हुनुहुन्छः

‘कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ’

एल् .वि विश्वकर्मा/हिरा पाण्डे

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले समाजमा अपाङ्गता भएका महिलाहरूलाई विभिन्न चुनौती रहे पनि पर्याप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज काठमाडौँमा आयोजना गरेको अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति साहले अपाङ्गता भएका व्यक्तिहरूमाथि विभेद हुने कुनै कानून वा व्यवस्था रहेको भए त्यसलाई परिमार्जन गर्न आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले अपाङ्गता भएका महिलाहरूको रोजगारी, शिक्षा स्वास्थ्यका साथै राजनीतिमा पहुँच पुर्‍याउन सके उनीहरूको सबलीकरण हुँदै जाने बताउनुभयो ।

महिला आयोगकी सदस्य विधा कुमारी सिन्हाले सरकारी सेवा प्रवाहलाई अपाङ्गमैत्री बनाउने विषयमा राज्य सचेत रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उप सचिव निरा अधिकारी, अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालकी अध्यक्ष निर्मला धिताल, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्य लगायतका वक्ताले कार्यस्थलमा हुने हिंसा, रोजगारी, शिक्षा, स्वास्थ्य जस्तो कुराहरूमा कानूनी तथा नीतिगत रुपमा धेरै माथि भए पनि कार्यान्वयन पक्ष भने कमजोर रहेकाले कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button