प्रथम प्रधानसेनापति बस्न्यातको दुई सय ७८औँ स्मृति दिवस मनाइयो
103
नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको दुई सय ७८औँ स्मृति दिवस मनाईको छ । जिहरसिंह पौवास्थित उहाँको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको हो । उहाँको जन्म विसं १७७१ मा गोरखामा भएको थियो । उहाँले विसं १८०३ मा एकीकरण युद्धको क्रममा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो । उक्त कार्यक्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको पनि उपस्थिती रहेको थियो । पूर्वप्रधानसेनापति क्षेत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिङ्गो नेपालकै शान भएको बताउनुभयो । राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरुबाट जोगाएर राख्ने यी दुई महान कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको पनि उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी, बुहारीको पनि ठूलो भूमिका रहेको तर इतिहासमा स्थान नदिइएको भनी गुनासो गर्दै वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक र सम्मान आवश्यक रहेको बताउनुभयो । त्यसैगरी विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्याङ्कन हुनु जरुरी रहेको बाताउँदै वीर पुर्खाहरुका नाममा स्थापित सबै सङ्घसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले व्यक्त गर्नुभयो । विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको चर्चा गर्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा उपस्थित शङ्खरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा. निरञ्जन मानसिंह बस्नेतले शङ्खरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने बताउनुभयो । त्यस्तै कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्