तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक आज गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिनुभएको छ ।

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिनुभएको छ । आवश्यक गृहकार्य गरेर पुनः आज बिहान ८:३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भन्नुभयो ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ ।

तराई-मधेस अभियान, उत्तर-दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।

समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उहाँले बताउनुभयो । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले पहल थालिसकेको छ ।

गृहमन्त्रालयले मिटरब्याजपीडितलाई वार्ताका लागि आह्वान गरिसकेको छ भने लघुवित्तपीडितको माग सम्बोधनका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button