तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १० जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तर पश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

“अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ”, कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चार माध्यमलाई बताउनुभएको छ ।

प्रहरीका अनुसार पीडितहरू गङ्गा स्नान गर्न कादरगञ्ज जाँदै थिए । पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शव गृहमा राखेको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।  

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।

ट्र्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा घातक सडक दुर्घटनाहरू प्रायः ओभरलोडिङ, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । 

सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग १ लाख ५० हजार  मानिसहरूको मृत्यु हुने गरेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button