तपाईँ सुन्दै हुनुहुन्छः

‘निजामती सेवा विधेयक संसद्मा छिट्टै पेश गर्ने तयारी’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा भएको सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको र प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने बताउनुभयो ।

बैठकको सुरुमा सांसदहरूले उठाएको विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मौलिक हक कार्यान्वयन र संविधान प्रदत्त अधिकार नागरिकलाई प्रदान गर्न सरकार गम्भीर रहेको भन्दै संघीय शिक्षा र थारु समुदायलाई आरक्षणसहितको निजामती सेवा विधेयक संसद्मा छिट्टै पेश गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, चुरे क्षेत्रको जैविक विविधता, प्राकृतिक स्रोत, पानी र स्थानीय बासिन्दाको समग्र संरक्षण र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका प्रायः सूचकहरू सकारात्मक रहेको भएपनि केही क्षेत्रमा अझै चाप रहेको भन्दै अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, कृषि, पशुपन्छी पालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम ७ सय ५३ वटै पालिकाहरूमा कार्यान्वयन गर्ने गरी अघि बढाइएको बताउनुभयो । 

प्रधानमन्त्री ‘प्रचण्ड’ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताउनुभयो ।  

प्रधानमन्त्री ‘प्रचण्ड’ले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने, कर्णालीमा विद्युत् आयोजनाको निर्माण, प्रसारण लाइनको विस्तार, जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत कार्य समेत अगाडि बढेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैङ्क र व्यवसायी दुवै हुँदा आउन सक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संसदमा पेश गर्न लागिएको जानकारी दिँदै पछिल्ला दिनहरूमा नेपालमा सूचना प्रणालीहरूको परीक्षणको काम सुरु गरिसकिएको बताउनुभयो । 

उहाँले सूचना प्रविधिको विकासबाट नै मुलुक परिवर्तन गर्न सकिने कुरामा सरकार प्रष्ट रहेको समेत जानकारी दिनुभयो ।

बैठकमा सांसदहरु कल्पना चौधरी, किरणकुमार शाह, कालुराम राई, कृष्णगोपाल श्रेष्ठ, कान्तिका सेजुवाल, गोकर्ण विष्ट, कुशुमदेवी थापा, खमबहादुर गर्वुजा, गगन थापा, किशोर सिंह राठोर, गीता बस्नेत, गणेश पराजुली लगायतले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button