सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १४ देशका धावक सहभागी हुने
पोखरा । पोखरामा भोलि(शनिबार) हुने १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०८० मा १४ देशका धावकहरू सहभागिता हुने भएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान हुने उक्त प्रतियोगितामा नेपालसहित १४ देशका करिब २ हजार जना महिला तथा पुरुष धावकहरू सहभागी हुने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो ।
प्रतियोगितामा नेपालसहित अमेरिका, बेलायत, भारत, चिन, केन्या, जर्मन, पोल्याण्ड सहितका १३ देशका ३१ जना धावकहरू सहभागी हुने मञ्चले जनाएको छ । म्याराथनसहित ७ विधामा करिब २ हजार जना दौडने भए पनि रन फर रनमा गरी गर्दा ९ हजार जना शनिबार पोखरामा दौडने भएको मञ्चले दाबी गरेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार प्राप्त गर्ने छन् । सुजल डेरीको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगर पालिकाले मुख्य रुपमा सहयोग गर्दै आइरहेका छन् ।
प्रतियोगिताको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । प्रतियोगिताका विजेताहरूलाई पुरस्कार मात्र १८ लाख १६ हजार खर्च हुने मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो ।
खुला म्याराथनतर्फ गण्डकी प्रदेशका धावकहरूलाई प्रोत्साहन गर्न विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष महेश पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्