लुम्बिनीमा चालक अनुमति पत्रको परीक्षामा डिजिटल हाजिर प्रयोग गरिने
दाङ । लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न डिजिटल हाजिर गराइने भएको छ ।
लिखित र प्रयोगात्मक परीक्षामा फरक फरक व्यक्ति सहभागी भएर अनियमितता हुने गरेको गुनासोको आधारमा मन्त्रीस्तरीय बैठकबाट सो निर्णय भएको हो । जसअनुसार लिखित परीक्षाअघि बायोमेट्रिक लिइएजस्तै प्रयोगात्मक परीक्षामा पनि सोहीअनुसार व्यवस्था गर्ने निर्णय भएको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल)परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकाहरूलाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो।
यस्तै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र लिने प्रयोजनका लागि सञ्चालन हुने प्रयोगात्मक परीक्षामा परीक्षार्थीहरूले आफ्नै सवारीसाधन वा परीक्षार्थीहरूले लिएर आउने सवारी साधनबाट प्रयोगात्मक परीक्षा सहज तरीकाले दिन पाउने यस पूर्वको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी, यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूमा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई पालो कुर्न नपर्ने गरी व्यवस्थापन गरिने भएको छ ।
लुम्बिनी मातहतका यातायात कार्यालयहरूका कार्यालय प्रमुखहरूसहितको बैठकमा प्रमुखहरूले आ–आफ्नो कार्यालयको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्