मकवानपुर गोल्डकप : सडन डेथमा धनकुटासँग आर्मी पराजित
मकवानपुर । हेटौँडामा जारी छैटौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब पराजित भएको छ । आहा रारा गोल्ड कप विजेता टोली आर्मीलाई राजारानी क्लब धनकुटाले सडन डेथमा ५–४ गोलअन्तर गरेको हो ।
हेटौँडा–६, स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा जारी प्रतियोगिताको निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा टुङ्गिएपछि खोल ट्राई ब्रेकरमा धकेलिएको थियो । खेलको ११औँ मिनेटमा आर्मीको तर्फबाट रसबहादुर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ८४औँ मिनेटमा धनकुटाका तर्फबाट विदेशी खेलाडी अजायी मार्टिनले गोल गर्दै खेल ट्राई ब्रेकरमा पुगेको हो ।
ट्राई ब्रेकरमा पनि दुवै टोलीले बराबरी गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाई ब्रेकरमा धनकुटाका तर्फबाट विशाल घलान, रुपेश केसी, दीप कार्कीले गोल गरेका थिए । यता आर्मीको तर्फबाट जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गर्दा बसन्त जिम्बा र श्रीराम चौधरीले गोल गर्न सकेनन् ।
ट्राई ब्रेकरमा ३–३ गोल भएपछि सडन डेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । आर्मीका विमल पाण्डेले सडन डेथमा गोल गर्दा सिद्धान्त चौधरीको प्रहार धनकुटाका गोलरक्षक दीप कार्कीले बचाएका थिए । कार्की खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धनकुटाले अब न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत मङ्गलवार भोली थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्