तपाईँ सुन्दै हुनुहुन्छः

योजना छनोट गर्दा दोहोरोपना नहुने गरी तयारी गर्न मन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय प्रणालीलाई बलियो बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताउनुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज सङ्घ, प्रदेश र स्थानीय तहबिचमा ऊर्जा जलस्रोत र सिँचाइ क्षेत्रको विषयगत समितिको बैठकमा मन्त्री बस्नेतले योजना छनोट गर्दा दोहोरोपना नहुने गरी आवश्यक तयारी गर्न प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी कार्यक्रम, बजेटको तय गरिने बताउनुभयो ।

सिँचाइ सुविधा पुग्न बाँकी रहेका १० लाख हेक्टरलाई विशेष प्राथमिकतामा राखेर योजना अगाडि बढाइने जानकारी दिनुहुँदै मन्त्री बस्नेतले पहाडी क्षेत्रमा लिफ्ट सिँचाइलाई विशेष ध्यान दिनैपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले स्थानीय जनताको माग सम्बोधन हुन नसक्दा विगतमा तय भएका, निर्माणमा रहेका आयोजनाले समेत लाभ दिन नसकेको तथ्यलाई यसपटक आत्मसात् गर्नैपर्ने बताउनुभयो ।

बैठकमा विभिन्न प्रदेशको सम्बन्धित मन्त्रीहरूले सङ्घीय सरकारका तर्फबाट सानाभन्दा साना योजनामा समेत हाल हालेको भन्दै त्यसमा सुधार जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button