तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्कको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा –एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैङ्कको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैङ्क, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बैंकले एकतर्फी रुपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमति बिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

“बैङ्कबाट नौ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “उक्त ऋण तिर्न जाँदा ब्याजले सेवाग्राहीलाई समस्यातर्फ धकेलिरहेको हुन्छ ।” उहाँले ऋण लिने र दिने दुवैको सहमतिबाट ब्याजको दर फेरबदल गर्नुपर्ने धारणा राख्नुभयो । 

“नौ प्रतिशतमा ल्याइएको ऋणको ब्याज १२–१४ प्रतिशत कहाँबाट ल्याएर तिर्ने ? ऋणीलाई कहाँबाट प्रतिफल आउँछ र तिर्ने ?”, अध्यक्ष ओलीले भन्नुभयो, “हामीलाई मर्का पर्‍यो त्यस कारण ब्याजको दर बढायौँ । अर्का ऋणीलाई परेको मर्का कसले हेर्ने ? सहमतिका आधारमा निश्चित मापदण्ड बनाएर ऋण लिने र दिने व्यवस्था गर्नुपर्छ ।” धितो र ऋण असुल गर्नु मात्र बैङ्कको काम नभएकोसमेत उहाँले बताउनुभयो ।

बैंकले लगानी गरेपछि उक्त रकम सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । बैङ्क विकासको सहयोगी बन्नुपर्ने भन्दै उहाँले सानो पुँजीबाट केही सुरुआत गरौँ भन्नेलाई बैंकले ऋण दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था बिग्रिरहेकाले सरकारले सुधार गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button