तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

चितवन । भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । 

आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुई वटा समूहमा विभाजन गरिएका छन् ।

प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि फागुन १ सम्म हरेक दिन २ खेल खेलाउने गरी तालिका बनाइएका छन् ।

नकआउट चरणमा विजयी ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर्स कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल फागुन ४ बाट सुरु गरिने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी १० वटा सामुदायिक विद्यालयलाई प्रतियोगिताका मूल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आवश्यक खेल सामग्री र गेम जर्सी प्रदान गर्न लागेको छ । 

आगामी माघ २४ गते आयोजक भरतपुर महानगरपालिकाको सभाहलमा आयोजना गरिने कार्यक्रममा ती खेल सामग्री र जर्सी हस्तान्तरण गरिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेल सामग्री र जर्सी दिने समझदारी महानगरसँग गरेको छ ।

भरतपुर महानगरपालिकाले ग्रासरुट क्रिकेटको विकास गर्नका लागि मेयर्स कप वार्षिक बजेटमै समेटेको छ । यसलाई निरन्तर अघि बढाउने योजना भरतपुर महानगरपालिकाको रहेको मेयर रेनु दाहालले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button