तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतका लागि अन्तिम मनोनयन पेश

लुम्बिनी । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्ताबेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ ।
फ्रान्सका लागि नेपाली राजदूत एवम् यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रुपमा मनोनयन दस्ताबेज पेश गर्नुभएको हो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेज पेश हुनु निकै खुसीको कुरा भएको बताउनुभएको छ ।
“संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्राध्यापकहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै नभई सम्पदा प्रेमी सबैका लागि खुसीको कुरा हो”, विज्ञप्तिमा भनिएको छ ।
तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी सहित कोषका तर्फबाट आवश्यक प्रक्रिया शुरु भएकाले सबैको सकारात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले उल्लेख गर्नुभएको छ ।
यूनेस्को जापानिज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो ।
तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायबाट आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चिता सरलता र मार्ग निर्देशका लागि निर्देशक समिति समेत गठन गरिएको थियो ।
उक्त समितिको संयोजक लुम्बिनी विकास कोषको उपाध्यक्ष रहने व्यवस्था बमोजिम हालका उपाध्यक्ष ल्हारक्याल लामाको संयोजकत्वको समितिले सो सिफारिस गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेटमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समावेश गरेको थियो । विश्व सम्पदा समितिको ४५औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो ।
अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत् रुपमा प्रक्रिया अगाडि बढेको छ।
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनीतिक दस्ताबेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्