शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा स्मृति सभा

काठमाडौँ । शहीद सप्ताहअन्तर्गत आज छैटौँ दिन शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृति सभा गरी उहाँहरूलाई स्मरण गरेको हो ।

स्मृति सभामा कामपाका उपप्रमुख सुनिता डङ्गोलले शहीदहरूको योगदानको गाथा पुस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । “आज हामीलाई स्वतन्त्र बनाउन उहाँहरूले दिनुभएको प्राणको आहुति नयाँ पुस्तालाई बुझाउनुपर्छ”, उहाँले भन्नुभयो ।
आम नागरिकको स्वतन्त्रताका लागि सम्पूर्ण शहीदहरूले गर्नुभएको त्यागबाट प्राप्त उपलब्धिहरू हामीले कसरी पाएका छौँ । यस्ता कुरा हामी जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ”, कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भन्नुभयो ।
हुकुमी शासनको विरुद्धमा काम गरेको, जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा विसं १९९७ माघ १५ गते दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । तत्कालीन समयमा एक अर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि हार नमानेपछि ज्यान जाने गरी गोली हानेर मृत्युदण्ड दिइएको थियो ।

बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा माहात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । रामेछापको भङ्गेरीमा जन्मिनुभएका गङ्गालाल श्रेष्ठले त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा सहभागिता जनाउनुभएको थियो ।
श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकद र पूर्ण कदका सालिक राखिएका छन् । तत्कालीन काठमाडौँ नगर पञ्चायतले विसं २०३६ माघ १५ गते शिलान्यास गरेर विसं २०३७ माघ १७ गते उक्त स्तम्भ अनावरण गरेको थियो ।
कामपाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका सालिक राखेको छ । राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि एक सय चार वर्षको हुकुमी शासन र तत्कालीन शासकलाई चुनौती दिँदै उहाँहरूले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चिरस्मरणमा राख्न र पुस्तालाई इतिहासका बारेमा जानकारी दिइराख्न कामपाले सहादत प्राप्त गरेको स्थानमा सालिक बनाएर संरक्षण गरिरहेको छ ।

माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै स्मृति सभा सम्पन्न भइसकेको छ ।
सहिद सप्ताहको अन्तिम दिन भोलि बिहान ८ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रभातफेरी हुनेछ भने ९ बजे सहिद स्मारक लैनचौर स्मृति सभा हुनेछ । सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सहभागी हुने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्