कार्यसम्पादनमा भागेश्वर गाउँपालिका सुदूरपश्चिममै उत्कृष्ट

डडेल्धुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डडेल्धुराको भागेश्वर गाउँपालिका सुदूरपश्चिममै उत्कृष्ट बनेको छ ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा भागेश्वरले ९१ अङ्क हासिल गर्दै सुदूरपश्चिममा दोस्रो र डडेल्धुरामा पहिलो बनेको हो । सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये भागेश्वर गाउँपालिका दोस्रो बनेपछि जनप्रतिनिधि तथा कर्मचारीहरू उत्साहित बनेका छन् ।
स्थानीय तहलाई सङ्घीय सरकारले शसर्त र निर्शत अनुदान बाँडफाँड गर्नका लागी स्थानीय तह संस्थागत क्षमता स्वमुल्याकनको नतिजा सार्वजनिक गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले सामूहिक प्रयासले सफलता पाएको प्रतिक्रिया दिनुभएको छ । यसैगरी ७६.२५ अङ्क प्राप्त गरी अमरगढी नगरपालिका र आलिताल गाउँपालिकाले दोस्रो स्थान हासिल गरेका छन् । ६९ अङ्क ल्याएर परशुराम नगरपालिका भने तेस्रो स्थानमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
यस्तै सुदूरपश्चिममा ९५.५ अङ्क ल्याएर डोटीको आदर्श गाउँपालिका प्रदेशमै उत्कृष्ट बनेको छ । ९१ अङ्क ल्याएको भागेश्वर प्रदेशमै दोस्रो भएको छ ।








प्रतिक्रिया राख्नुहोस्