तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्तिसहित उपलब्धिमूलक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित खोप कार्यक्रमको वर्तमान अवस्थाप्रति उहाँले असन्तुष्टि जनाउँदै कामलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले यसका लागि तीन वटै तहबीच समन्वयन हुन नसकेको भन्दै आगामी दिनमा यसमा सुधार आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य आरपि विच्छाले १६औँ पञ्चवर्षीय योजनामा खोपमा कसरी आत्मनिर्भर बन्ने सम्बन्धमा योजना समेटिएका बताउनुभयो । उहाँले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

महाशाखाका निर्देशक डा विवेककुमार लालले हालसम्म ७२ जिल्ला र सात सय ३३ स्थानीय तह पूर्णखोप घोषणा भइसकेको जानकारी दिँदै सङ्ख्यामा मात्र नभई गुणस्तरीयता कायम गर्न जरुरी रहेको बताउनुभयो ।

महाशाखाले चार/पाँच वर्षको अन्तरालमा खोप अभियान सञ्चालन गर्दै आएको छ । खोप अभियान प्रभावकारी रहेको आयोजकले जनाएको छ । नेपालमा विसं २०३४ मा विस्तारित खोप आयोजनाको रुपमा प्रारम्भ भएको खोप कार्यक्रम हाल राष्ट्रिय खोप कार्यक्रमको रुपमा विस्तार भई नेपाल सरकारको उच्च प्रथामिकतामा सञ्चालित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button