तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटका भूकम्प प्रभावित विद्यालयलाई प्याब्सनले ३५ लाख दिने 

सुर्खेत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जाजरकोटका भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले भूकम्पबाट प्रभावित निजी क्षेत्रबाट सञ्चालित जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरूलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । 

प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाले ३५ लाख मध्ये २५ लाख निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई र १० लाख रुपैयाँ सामुदायिक विद्यालयलाई सहयोग गर्ने निर्णय भएको बताउनुभयो । 

उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई मात्र सहयोग गरेमा विभेद् जस्तो देखिने भएकाले सामुदायिक विद्यालयलाई समेत प्याब्सनले सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले अहिलेसम्म कुनै पनि प्रकारको सहयोग र राहत पाउन नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । 

प्याब्सनको कर्णाली प्रदेशस्तरीय तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आइपुग्नुभएका अध्यक्ष ढुङ्गानाले देशको शैक्षिक स्तर माथि उकास्न सरकारले निजी र सामुदायिक दुवै क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले कर्णालीको भूगोल सुहाउँदो र आवश्यकतामा आधारित निजी क्षेत्रका विद्यालय मात्र होइन, विश्वविद्यालय नै स्थापना गर्न जरुरी रहेको औँल्याउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button