नारायणगढको पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणमा तीव्रता

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको निर्माणाधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मुख्य प्रवेशद्वार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पस चोकदेखि लायन्सचोकसम्म तीव्र रुपमा काम अगाडि बढेको हो । तीन हप्ता अघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समाधान भएसँगै कामले गति लिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताउनु भयो ।
निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको दाहालको भनाई छ ।
सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाइनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाइन, दुई वटा कल्भर्ट र ओरालो सडक भएकाले काम गर्नलाई कठिनाइ भएको थियो ।
भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भएपनि मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीव्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ ।
निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाइनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ ।
निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाइल पठाइएको उहाँले जानकारी दिनुभयो । फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाई छ ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाका अनुसार सडकको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
यस्तै लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भइरहेको छ भने फागुनको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर) पहिलो चरणको कालोपत्रे भइसक्ने म्यानेजर ढुङ्गानाले बताउनु भयो । २०७७ साल माघदेखि सुरु भएको ६. दशमलव ०८ किलोमिटर सडकको मङ्सिर महिनामै सकिएको छ । निर्माण कम्पनीले म्याद थप गर्ने प्रक्रियामा छ ।








प्रतिक्रिया राख्नुहोस्