घाम नलाग्दा चिसोले नवलपरासीको जनजीवन प्रभावित
नवलपरासी,पश्चिम् । धेरै दिन सम्म घाम नलाग्दा पश्चिम् नवलपरासीको जनजीवन प्रभावित बनेको छ ।बिहान हुस्सु लाग्ने र शीत खस्ने हुँदा चिसोले दैनिक जीवनयापन कष्टकर बनेको हो ।पैदल यात्रु र सवारी साधनमा यात्रा गर्ने आम मानिसलाई समेत कठिन भएको छ।
स्थानीय तहहरुले ठाउँ ठाउँमा आगो ताप्नकालागी दाउरा वितरण गरिरहेका छन् ।मुलत विद्यालय आउजाउ गर्ने बालबालिकाका लागि कठ्याङ्ग्रिँदो जाडोले रुघाखोकी र स्वास्थ्य जोखिम समेत बढेको छ।”चिसो बढ्दो छ साना साना विद्यार्थी भाइबहिनीहरू काँप्दै आउने अवस्था छ,बिहान सञ्चालन गर्नु पर्ने कक्षाहरू समेत सञ्चालन गर्न सकिएको छैन”बर्दघाटमा रहेको गङ्गा माविका प्रधानाध्यापक भुपेन्द्र रिजालले भन्नुभयो ।पश्चिम् नवलपरासीमा घाम नलागेको एक हप्ता भन्दा बढी बितिसकेको छ ।
घाम नलाग्दा खेतीपाती गर्ने किसान,मजदुर र विपन्न समुदायको दैनिकी झन निकै कष्टकर बनेको छ ।चिसोका कारण अस्पतालमा बिरामीको सङ्ख्या समेत बिस्तारै बढ्न थालेको छ ।”केही बिरामीहरू रुघाखोकी र श्वासप्रश्वासको समस्या लिएर आउने क्रम बढ्दो छ,चिसोकै कारणले नियमित आउने बिरामीको अनुपातमा सङ्ख्या बढेको हो”चिसापानी अस्पतालकी डा.मन्जिला घिमिरेले बताउनु भयो ।
लुम्बिनी प्रदेशमा बढ्दो चिसो र शीतलहरका कारण केही विद्यालयहरूमा जाडो बिदा दिइएको छ ।कुहिरो र हुस्सुका कारण सार्वजनिक र निजी सवारी साधनकालागि यात्रा कठिन बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्