तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि जनकपुरधाम उपमहानगरको विद्यालय १० दिनका लागि बन्द

जनकपुरधाम । विगत केही दिन देखि शुरु भएको शीतलहरका कारणले साना साना विद्यार्थीहरू प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरू बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले आज जारी गर्नु भएको सूचनामा पुस २९ गते देखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिने निर्णय भएको उल्लेख रहेको छ ।

अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरि दिइएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जारी गर्नु भएको सूचनामा उल्लेख रहेको छ । विगत एक साता देखि बिहान देखि चिसो हावा सँगै शीतलहर चलेका कारणले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।

खास गरेर शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्ग, गरिब तथा खुल्ला आकाशमा काम गर्ने मजदूर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । बढेको चिसोका कारणले दम तथा रुघाखोकीको मात्रामा वृद्धि हुनुका साथै गेठीया तथा दम्माका रोगीहरूमा थप समस्या उत्पन्न भएको छ ।

यसै गरि शितलहर तथा बाक्लो कुहिरोका कारणले विमान सेवा पनि प्रभावित भइरहेको छ । यता शितलहरवाट जोगिनका लागि व्यक्ति विशेषले ठाउँ ठाउँमा दारा वालेपनि धनुषाका कुनै पनि स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button