लाभग्राहीले अझै पाएनन् अनुदान रकम
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीले सरकारले पठाएको अनुदान रकम अझै पाउन सकेका छैनन् ।
अस्थायी टहरा निर्माणका लागि स्थानीय विपद् कोषमा पठाइएको रकम गाउँपालिकाको ढिलासुस्तीका कारण लाभग्राहीको खातामा पुग्न ढिलाइ भएको हो ।
भूकम्प गएको दुई महिना बितिसक्दा पनि अस्थायी टहराका लागि पहिलो चरणको अनुदान किस्ता अहिलेसम्म नपाएकोमा लाभग्राहीले गुनासो गरेका छन् ।
ऋण गरेर जसोतसो टहरा निर्माण गरिसक्दा पनि अहिलेसम्म पालिकाले अनुदान रकम नपठाउँदा आफूहरू थप आर्थिक समस्यामा परेको वडा नम्बर ९, की चन्द्रकला केसीको भनाइ छ ।
गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा लाभग्राहीको खातामा अनुदान रकम पठाउन केही ढिला भएको बताउनुभयो । अनुदान रकम यो सातादेखि सबै लाभग्राहीको खातामा पठाउन सुरु गर्ने उहाँले बताउनुभयो ।
बाफिकोट गाउँपालिकामा अहिलेसम्म एकसय १७ अस्थायी आवास निर्माण सम्पन्न भइसकेका छन् । त्यस्तै पालिकाभर एक हजार ७ सय घरपरिवार लाभग्राहीको रुपमा कायम भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्