एउटै विधेयकमा धेरै कानुन राखेर ल्याउने कुराको अन्त्य गर्न सांसहरुको जोड

काठमाडौँ । कानुन निर्माण गर्दा धेरै कानुनहरूलाई एउटै विधेयकमा राखेर ल्याउने कुराको अन्त्य गर्दै लैजानु पर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलका क्रममा सांसदहरुले धेरै विषयहरू एउटै विधेयकमा ल्याउँदा केही विषयहरू गलत रुपमा प्रवेश पाउन सक्ने अवस्था सिर्जन हुन सक्ने बताउनुभयो ।
समितिले आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको हो ।
छलफलमा सांसदहरुले ऐनमा तजबिजी अधिकार दिने व्यवस्था गर्न नहुने, प्लस टु अध्ययनका लागि विदेश जान रोक्ने कुराको विकल्प दिन सक्नु पर्ने, ऐनमा ल्याउन खोजिएका विषयको परिभाषा स्पष्ट गरिनुपर्ने, शिक्षा सम्बन्धी छाता ऐन आउने तयारी भइरहँदा छुट्टै एन संशोधन आवश्यक नभएको लगायतका विषय राख्नुभयो ।
सांसदहरुले पुराना सवारी साधनको जाँचपास र प्रमाणपत्र दिनेकाम सरकारी निकायबाटै हुनुपर्ने, संरक्षित क्षेत्र सम्बन्धी परिभाषामा थप स्पष्ट गरिनुपर्ने, मध्यवर्ती क्षेत्र र बफर जोनको विषयमा जनजीवनलाई सहज हुनेगरी परिभाषा गर्नुपर्ने सबै नेपालीलाई स्वच्छ पानीको पहुँच पुग्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा ७९ वटा विधेयक संशोधन र २ वटा विधेयक खारेजी गर्ने गरी सरकारले विधेयक ल्याएको छ ।
जसमा ६२ जना सांसदहरुले एकल र संयुक्त गरेर ५५ वटा संशोधन दर्ता गराउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्