मधेश प्रदेशमा उपभोक्ता समितिको काम शुन्यमा झार्ने : मुख्यमन्त्री यादव

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले आज जनकपुरधाममा प्रदेशस्तरीय अन्तरक्रिया गरेको छ ।
अख्तियारको केन्द्रीय कार्यालयको आयोजनामा भएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको सबैभन्दा बढी उजुरी मधेश प्रदेशबाट नै परेको जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशमा भ्रष्टाचार शुन्यमा पुर्याउने गरि प्रदेश सरकारले कामको थालनी गर्न लागेको बताउँदै अर्को आर्थिक वर्षदेखि उपभोक्ता समितिबाट काम नगर्ने घोषणा गर्नु भयो ।
उहाँले यस आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको योजनाहरूमा बजेट पठाउँदा बजेटको दुरुपयोग नहुने र योजना बिक्री नहुने गरि पठाउन लागेको जानकारी दिनु भयो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले विगतमा गरेका कतिपय राम्रा काममा अख्तियारले हात हालेको र त्यसको निर्क्योल चाँडो नगर्दा सामुदायिक विद्यालयका छात्राहरूका लागि खरिद गरेको पाँच हजार साइकल थन्किनुका साथै साइकलको सप्लायरले भुक्तानी नपाएर डिप्रेसनको शिकार बनेको बताउनु भयो ।
उहाँले अख्तियारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि चाल्ने हरेक कदममा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले मुलुकमा सुशासन तथा भ्रष्टाचारको नियन्त्रण सामूहिक प्रतिबद्धताले मात्र गर्न सकिने बताउँदै ऐन कानूनको प्रभावकारी पालना गर्नका लागि सुझाव दिनु भयो ।
उहाँले उपभोक्ता समितिको नाउँमा बिचौलियाहरूले काम गरेको पाइएको बताउँदै योजनाको उपभोग गर्ने तथा योजना सम्पन्न गर्ने क्षमता भएको काम मात्र उपभोक्ता समितिबाट गराउनका लागि आग्रह गर्नु भयो ।
प्रमुख आयुक्त राईले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व हामी सबैको भएको बताउँदै कन्सल्टेन्सी तथा परामर्श सेवाको नाउँमा स्थानीय तहको बजेट अत्यधिक मात्रा गइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसमा रोक लगाउनका लागि आग्रह गर्नु भयो ।
मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले कानून तथा विधिको शासन प्रति प्रतिबद्ध रहेको बताउँदै अख्तियारले गर्ने हरेक अनियमितताको अनुसन्धानमा प्रदेश सरकार सघाउनका लागि तयार भएको बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले प्रमुखहरुले उपप्रमुखलाई तोकिएको संवैधानिक तथा कानूनी अधिकारको बहन गर्नमा सहयोग गरेको खण्डमा स्थानीय तहमा हुने विवादहरूको स्वतः समाधान हुने बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सरकारका उच्च अधिकारीहरू, धनुषा, महोत्तरी, सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू, राष्ट्र सेवक कर्मचारीहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मीहरूको सहभागिता रहेका थिए ।
कार्यक्रममा अख्तियारको केन्द्रले गर्ने कामको विषयमा सह सचिव लक्ष्मी प्रसाद उपाध्याय र बर्दिबास कार्यालयले गरेको कामकाज तथा उजुरीको विषयमा कार्यालय प्रमुख राम बहादुर गुरुवाङ्गले प्रस्तुति गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्