देवचुलीमा मगर सङ्ग्रहालय बनाइँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकामा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ ।
मगर संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मगर सङ्ग्रहालय स्थापना गर्न लागिएको हो । नेपाल मगर संघ देवचुली १० ले पृथ्वी नगरमा सङ्ग्रहालय बनाउन लागेको हो ।
मगर समुदायको कला, संस्कृति, रहन, सहन र भेषभुषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि समेत सङ्ग्रहालय स्थापना गर्न लागिएको मगर सङ्ग्रहालयका अध्यक्ष भुवन सिंह आलेले बताउनुभयो । सङ्ग्रहालयमा मगर समुदायले प्रयोग गर्ने भाँडा वर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिने आलेले जानकारी दिनुभयो ।
सङ्ग्रहालयका लागि स्थानीय समुदायमा भएका मगर सभ्यता झल्काउने सामग्रीहरू सङ्कलन गरिएको र आगामी फागुन १५ गते समुद्घाटन गर्ने तयारी गरिएको मगर सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताउनुभयो ।
पर्यटन प्रवर्द्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने देवचुली नगरपालिका वडा नम्बर १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताउनुभयो । वडाले सङ्ग्रहालयको भौतिक निर्माणका लागि सहयोग गरिरहेको बताउँदै आफ्नै भाषा, संस्कृति, भेषभुषा र संस्कार संस्कृति भएका मगरको मौलिकता रक्षाका लागि सबैले चासो दिनुपर्ने उहाँको भनाई छ । । मगर समुदायको मौलिकता जोगाइराखे देवचुलीको पर्यटन विकासमा समेत टेवा पुग्ने उनले उहाँले बताउनुभयो ।
मौलिक मगर संस्कृति र पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो सङ्ग्रहालय स्थापनाका लागि पहल गरेका हुन् ।
नगरपालिका,वडा र स्थानीय गाउँवासीहरूको सहयोगमा सङ्ग्रहालय बनाउन लागिएको हो । सङ्ग्रहालय भवनका लागि २२ लाख भन्दा बढीको खर्च भएको छ ।
उक्त सङ्ग्रहालयमा अन्य समुदायलाई अवलोकनका लागि समेत व्यवस्था गरिने योजना रहेको अध्यक्ष आलेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्