तपाईँ सुन्दै हुनुहुन्छः

‘खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ ।

एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै मन्त्री साउदले पवित्र तीर्थस्थल र सांस्कृतिक सम्पदाहरूको उपलब्धताले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिनका रुपमा कैलाली र कञ्चनपुरका फाँटहरू रहेका जानकारी दिनुभयो । 

नेपालका पाँच ठूला नदीमध्ये तीन वटा सुदूरपश्चिममा रहेका उहाँको भनाइ थियो । मन्त्री साउदले अहिले पनि सुदूरपश्चिममा आवश्यक विकास गर्न नसकिएकाले त्यहाँको पर्यटनदेखि अन्य क्षेत्रको विकासमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रसिद्ध खप्तड क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो । 

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलाई चिनाउने तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड भएकाले त्यहाँको क्षेत्रलाई देश–विदेशमा चिनाउन दृश्यमा खप्तड शृङ्खला–२ ले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादीका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली, संविधानसभा सदस्य तथा कांग्रेस नेता भरतबहादुर खड्का लगायतले सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको विकासका लागि राज्यका तीनवटै तहले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button