तपाईँ सुन्दै हुनुहुन्छः

२५ औँ सडक महोत्सवमा २५ थरिका खाना, हस्तकला तथा स्थानीय उत्पादनलाई प्रोत्साहन

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको २५ औँ सडक महोत्सव २०८० मा स्वदेशी तथा विदेशीका गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने भएको छ । महोत्सवमा स्वदेशी तथा विदेशीका गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने भएको आज (मङ्गलवार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

महोत्सवमा चाइनिज, इण्डियन, नेपालीमा थकाली देखि विभिन्न खानाका परिकारहरू उपलब्ध गराइने भएको रेवान पोखराले जनाएको छ । यसपालिको महोत्सव अन्य महोत्सव भन्दा केही फरक ढंगले आयोजना गर्न लागेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले दाबी गर्नु भयो । यसपालिको सडक महोत्सवमा स्थानीय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रीहरूको समेत आफूहरूले निःशुल्क स्टल उपलब्ध गराएको उहाँले बताउनु भयो ।

यही पुष १२ गते देखि सञ्चालन हुने महोत्सवमा कला संस्कृति झल्कने विभिन्न जनजातिको भेषभुषा सहितको झाकी विभिन्न खेलकुद कार्यक्रम, गीत सङ्गीत तथा कला क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष भट्टराईले बताउनु भयो । डिसेम्बर २५ अर्थात् क्रिसमस डेको अवसरबाटै पोखरामा पर्यटकहरूको चहल पहल सुरु भएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो ।

महोत्सवलाई भव्य रुपमा सफल पार्न हाल पोखराको करिब ३ किलोमिटर क्षेत्रमा रंगरोगन, धोजा पोतकाले सजिसजावट समेत गरिएको उहाँले बताउनु भयो ।स्थानीय किसानले उत्पादन गरेका बस्तुको बिक्री वितरणको लागि सहज पहुँच पुर्‍याउने गरी निःशुल्क स्टलको व्यवस्था गरिएको संयोजक पौडेलले बताउनु भयो । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यही पुष १२ गते देखि १६ सम्म पोखराको लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने आफूहरूले लक्ष्य राखेको रेवान पोखराले दाबी गरेको छ ।यसैबिच, सडक महोत्सवको पूर्व अवसरमा रेवान पोखराले साइकल सिटी पोखरा, पोखरा माउण्टेन बाइकको सहकार्यमामा पोखरामा हालै ३० किलोमिटर साइकल र्‍याली समेत आयोजना गरेको थियो । पोखरा लेकसाइडको बुर्हयाङ रेष्टुरेण्ट देखि हल्लनचोक, सेतीबगर, खपौदी, पामे, घाँटी छिना, मार्की हुँदै लेकसाइडसम्मको ३० किलोमिटर साइकल र्‍याली आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।त्यस्तै महोत्सवको प्रोमोशनको लागि रेवान पोखराले चितवन र काठमाडौँसम्म पुगेर व्यवसायीहरुसंग छलफल तथा पत्रकार सम्मेलन समेत गरेको प्रचार प्रसार संयोजक बिकास भट्टराईले बताउनुभयो ।

 ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, मयूर डान्स, रत्यौली प्रतियोगिता हुने भएको छ । साथै महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्टी प्रदर्शन गरिने भएको पूर्व अध्यक्ष चौ बहादुर गुरुङले बताउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालकै स्थापित ब्राण्डीङ भएको दाबी गर्नु भयो । यस महोत्सवमा ५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले  २०१९ मा १२ लाख पर्यटक भित्रिएको अवस्थामा यस बर्ष साँढे ९ लाख बढी आएकोले यस बर्ष पर्यटनमा सुधार हुँदै आएको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले उक्त महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । महोत्सवको अवसरमा चर्को मूल्य लिएमा कारबाही गर्ने रेवानले जनाएको छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ बर्ष अघि सुरु भएको हो ।

पश्चिम नेपालमा हालै आयोजना  भएको जाऊ है पोखरा अभियानले पर्यटन प्रवर्द्धन गर्न टेवा पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button