एनसेलको सम्बन्धमा सरकारले छानबिन गरिरहेको छ : मन्त्री शर्मा
धनकुटा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको सम्बन्धमा सरकारले छानबिन समिति बनाएर काम गरिरहेको बताउनुभएको छ ।
मध्य पहाडी राजमार्गको कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले बाहिर हल्ला भएजस्तो सरकार छुप लागेर नबसेको र नेता तथा मन्त्रीहरूलाई लगाइएको आरोपमा सत्यता नभएको बताउनुभयो ।

उहाँले कोशी प्रदेशभित्र कूल ६८३ किलोमिटर दूरीमा सूचना महामार्ग निर्माण गरिएको र यो दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा यो निकै ठूलो उपलब्धि भएको बताउनुभयो । नेपाल टेलिकम मार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको र देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको बताउँदै मन्त्री शर्माले शत प्रतिशत क्षेत्रमा विस्तार गर्न लागि परेको बताउनुभयो ।
उहाँले नागरिकता तथा राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, जग्गा रजिष्ट्रेसन, श्रम स्वीकृति, सवारी चालक अनुमतिपत्र, नो अब्जेक्सन सर्टिफिकेट लगायतका सेवाका लागि सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको उल्लेख गर्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याइएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो । यो महामार्गको सह प्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउने छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल दूरसञ्चार कम्पनीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षता भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्