तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणकालीन न्यायलाई राष्ट्रिय सहमतिका आधारमा टुङ्गोमा पुर्‍याउनु पर्छ : कानुनमन्त्री गुरुङ

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग राजनीतिक परिवर्तनसँग जोडिएको विषय भएकाले यसलाई राष्ट्रिय सहमतिका आधारमा टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधि सभा, कानुन, न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा मन्त्री गुरुङले विधेयक राजनीतिक परिवर्तनसँग जोडिएको विषय भएकाले प्रक्रियामा जान हतार गर्न नहुने सुझाव दिनुभयो ।

कानुन मन्त्री गुरुङले विधेयक टुङ्गो लगाउने जिम्मा समितिको भएपनि सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताहरू गम्भीर बन्नु पर्ने र राष्ट्रिय सहमति खोज्नु पर्नेमा जोड दिनुभयो । 

छलफलमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन अब ढिलाइ गर्न नहुनेमा सांसदहरुले जोड दिनुभयो ।

छलफलमा केही सांसदहरुले संक्रमण कालिन न्याय सम्बन्धी टिआरसी विधेयक राजनीतिक विषय भएकाले शीर्ष तहमा छलफल गरी राष्ट्रिय सहमतिका आधारमा छिटो टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो भने केही सांसदहरुले प्रक्रियामा गएर भएपनि टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो । 

समिति अन्तर्गतको उपसमितिले पेश गरेको प्रतिवेदनमा मानव अधिकारको गम्भीर उल्लङ्घनमा समावेश स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्या मध्ये कुनलाई समावेश गर्ने, सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने, मानव अधिकारको उल्लङ्घनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । 

यसैबीच, कानुन न्याय तथा मानवअधिकार समितिले बिदाको दिन बाहेक अन्य दिन समितिको बैठक निरन्तर गर्ने निर्णय गरेको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आज भएको छलफलपछि समितिले बिदाका दिन बाहेक अब हरेक दिन विधेयक माथिको दफावार छलफल गर्ने निर्णय गरेको हो । 

समितिले संघीय संसद्को आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरूलाई प्रतिवेदन सहित सभामा लैजाने गरी कार्यतालिका बनाएर छलफल शुरु गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button