कृषिमा बजारीकरण आवश्यक : अध्यक्ष ओली

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, बजारीकरण, व्यावसायिकीकरणमा ध्यान नपुगेको बताउनु भएको छ । एमालेले गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा धनकुटा धनकुटा आइपुग्नु भएका ओलीले त्यस्तो बताउनु भएको हो ।
यात्राको क्रममा धनकुटाको पाख्रिबासमा आयोजित कृषि अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले धेरै कुरामा कमी कमजोरी रहेको बताउनु भएको हो । उहाँले कृषिमा ६० प्रतिशत जनता कृषिमा रहेकोले आयात रोकेर आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । सबैको जीवनदाता कृषि भएकोले यसमा आत्मनिर्भर हुनुपर्ने उहाँले बताउनु भयो।
पूर्वप्रधानमन्त्री आलीले कृषिमा प्रविधिको विकास गर्नुपर्ने बताउँदै माटोको परिक्षण गरेर खेती गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो नेतृत्वको सरकारले मेरो कित्ता कार्यक्रम सुरु गरेर काम गर्न सुरु गरेको भएपनि निरन्तरता नभएको बताउनु भयो। यात्राको क्रममा अध्यक्ष ओलीले धनकुटाको हिलेमा निर्माण गरिएको हिले पार्क उद्घाटन गर्नुभएको छ। २०७७ सालमा ६५ लाखको लागतमा पार्क निर्माण गरिएको हो ।
पार्क उद्घाटनपछि ओली तेह्रथुमको वसन्तपुरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जानुभएको छ । धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रुपमा आमसभा आयोजना गरिएको हो । एमालेको सङ्कल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ ।
सङ्कल्प यात्राको अगुवाइ गरिरहनु भएका एमाले अध्यक्ष ओलीको टिममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित सहभागी हुनुहुन्छ ।
यसैबिच यात्राको क्रममा धनकुटा प्रवेश गर्ने बित्तिकै अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवा स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुर्व्यवहार गरेका हुन्। उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो। दुर्व्यवहारको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्