प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेडियो नेपालले बुझायो ९ लाख ७१ हजार रुपैयाँ

काठमाडौँ । रेडियो नेपालले जाजरकोट भूकम्प प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख ७१ हजार १ सय नौ रुपैयाँ हस्तान्तरण गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आज सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सरकारको निर्णय अनुसार रेडियो नेपालमा कार्यरत १० औँ तहदेखि माथिका कर्मचारीको तीन दिनको, ६ देखि ९ तहसम्मका कर्मचारीको दुई दिनको र सहायकस्तर तथा करार, सेवा करार, ज्यालादारी र शिफ्ट र बुलेटिन बेसिसमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक बराबरको रकम गरी ९ लाख ७१ हजार १ सय नौ रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

चेक बुझ्नुहुँदै सञ्चारमन्त्री शर्माले जाजरकोट भूकम्प प्रभावितहरूको राहत र पुनर्स्थापना लागि सरकारले १० अर्ब बराबरको कोष स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।
मन्त्री शर्माले भूकम्पलाई अवसरको रुपमा लिँदै जाजरकोट र रुकुममा एक वर्षभित्र व्यवस्थित आवास निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो । मन्त्री शर्माले कोषमा योगदान गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पनि उपस्थित हुनुहुन्थ्यो ।









प्रतिक्रिया राख्नुहोस्