तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण हुनुपर्ने उल्लेख गर्दै प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउँदै देश र जनताको स्वाभिमानलाई झुक्न नदिने गरी उत्साहजनक ढङ्गले यात्रा अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले युवा पलायन भइरहेको वर्तमान अवस्थामा कृषियोग्य जमिनमा उपजका लागि सिँचाइ र चिस्यान केन्द्र व्यवस्थापन गर्न सके देशको जनशक्ति रोक्दै जान सकिने धारणा राख्नुभयो ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य लगायत नेताहरू, प्राविधिक तथा विज्ञ सङ्कल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आउँदो पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button