धनकुटामा गतवर्षको तुलनामा मानव अधिकारका उल्लङ्घनका घटना वृद्धि

धनकुटा । कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनुभयो । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रम तथा नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक समीक्षा कार्यक्रममा राईले इन्सेकले गरेको अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनु भयो । उहाँले समाजमा जान्ने बुझ्ने मान्छेबाटै समाजमा घटना भइरहेको उहाँले बताउनु भयो । उहाँले आर्थिक आर्जनमा मानिस नलागेसम्म मानवअधिकार उल्लङ्घन नघट्ने बताउँदै प्रविधिको विकाससँगै आर्थिक विकास भएमा मानवअधिकार उल्लङ्घन घट्ने बताउनु भयो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार धनकुटामा मानव अधिकार उल्लङ्घनका घटनाहरू वृद्धि भएको पाइएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ का लागी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार गरेको वार्षिक प्रतिवेदनले धनकुटामा मानव अधिकार उल्लङ्घनका घटनाहरू वृद्धि भएको पाइएको हो । धनकुटामा गत वर्ष ७५ वटा मानवअधिकार उल्लङ्घनका घटनामा ७५ जना पीडित भएकोमा यसवर्ष १ सय घटनामा १ सय ३ जना पीडित भएको इन्सेक प्रतिनिधि ईश्वर थापाले बताउनु भयो । धनकुटामा यस वर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको थापाले बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा धनकुटामा एक वर्षको अवधिमा १ सय वटा मानवअधिकार उल्लङ्घनका भएको इन्सेकको तथ्याङ्कले देखाएको छ । इन्सेकको तथ्याङ्क अनुसार १ सय घटनामा १ सय ३ जना पीडित भएको उल्लेख छ । इन्सेकको तथ्याङ्क अनुसार ४ जनाको हत्या, झडपमा २ जना घाइते, कुटपिट १ जना, मोसो दलेर २ जनामा दुर्व्यवहार, घरेलु हिंसा ७३ जना, ५ बालिका सहित १४ जना बलात्कृत, बाल यौन दुर्व्यवहार १ जना पीडित भएका छन् । त्यस्तै बालविवाह १ जना, बोक्सीको आरोप १ जना, भौतिक संरचनामा क्षति हुँदा २ पीडित, सार्वजनिक सेवाबाट बञ्चित १ जना र श्रमको हकबाट १ जना पीडित बनेको इन्सेक प्रतिनिधि थापाले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलकुमार शाह लगायतले मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन कसको के काम भनेर नै लाग्नुपर्ने बताउँदै सबैको पहल आवश्यक रहेको बताउनु भयो । उहाँहरूले मानव अधिकारको अवस्थाका विषयमा जानकारी दिई यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिवृद्धि गर्ने बताउँदै महिला हिंसाका घटना बढेको बताउँदै तीनै तहको सरकारले महिला हिंसा न्यूनीकरणमा बजेट खर्चने बेला आएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्