गण्डकी प्रदेशमा २ हजार ८ सय जनामा एचआइभी एड्स सङ्क्रमण

पोखरा । गण्डकी प्रदेशमा २ हजार ८ सय जना एचआइभी एड्स सङ्क्रमित रहेका छन्। गण्डकी प्रदेशमा हाल २ हजार ८ सय जना एचआईभि एड्स सङ्क्रमित भएको राष्ट्रिय एचआईभि एड्स महासङ्घका केन्द्रिय सदस्य मनोज गुरुङले बताउनु भयो ।
उहाँका अनुसार ३० बर्ष माथिका उमेर समूहमा बढी एचआईभि एड्स सङ्क्रमण रहेको छ । प्रदेशका ११ जिल्ला मध्य कास्की जिल्लामा प्रदेशको तथ्याङ्कको आधारमा ५० प्रतिशत जसो एचआईभि एड्स सङ्क्रमितको सङ्ख्या रहेको सदस्य गुरुङले दाबी गर्नु भयो । कास्कीमा हाल करिब ३ सय जना एचआईभि एड्स सङ्क्रमित व्यक्तिहरूको नागरिकता नहुँदा स्वास्थ्य बिमाको सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ । केहीले घर छाडेर आएका, केहीका बाबु आमा नभएका, केहीको ठेगाना समेत राम्रोसँग नखुलेको लगायतको समस्याले गर्दा उहाँहरूलाई राज्यले उपलब्ध गराएको स्वास्थ्य बिमाको सेवा नागरिकता नभएको कारण दिन सक्ने अवस्था नभएको उहाँले जनाउनु भयो ।
एचआईभि एड्स सङ्क्रमितहरूको लागि अर्को ठुलो चुनौतीको रुपमा हेपाटाइटिस रोग रहेको सदस्य गुरुङले दाबी गर्दै उक्त रोगका बिरामीहरूले सेवन गर्ने औषधि प्रयोग गर्न नपाएका कारण पोखरामा करिब २० जना एचआईभि एड्स सङ्क्रमितका बिरामीहरू आज वा भोलि भनेर मृत्युको मुखमा रहेको दाबी गर्नु भयो । राज्यले एचआईभि एड्स सङ्क्रमित सहित हेपाटाइटिस रोगका बिरामीहरूलाई आवश्यक पर्ने औषधी फार्मेसी वा राज्यको निकायबाट उपलब्ध गराउनु पर्ने उहाँले बताउनु भयो ।
कास्कीमा सबै भन्दा धेरै १ हजार ४ सय जनामा एचआईभि एड्स सङ्क्रमण रहेको सदस्य गुरुङले दाबी गर्नु भयो । अझै पनि समाजमा एचआईभि एड्स सङ्क्रमितहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकोले लान्छाना र भेदभावले गर्दा खुल्न नचाहेको उहाँको भनाई थियो । राज्यले पछिल्लो समयमा वार्षिक रुपमा ५० करोड भन्दा बढी एचआईभि एड्स सङ्क्रमितहरूको क्षेत्रमा खर्च गर्दै आएको उहाँको भनाई छ ।
महासङ्घ गण्डकीका सुपरभाइजर शान्त बहादुर रानाले समलिङ्गी र महिला यौनकर्मीहरूमा उच्च सावधानी अपनाउन नसक्दा एचआईभि एड्स सङ्क्रमित हुने जोखिम बढी हुने दाबी गर्नु भयो ।
एचआईभि सङ्क्रमित महिलाहरूको राष्ट्रिय महासङ्घ कास्कीका फोकलपर्सन प्रतीक शेरचनले एचआईभि एड्स सङ्क्रमित भएका २० जनामा हेपाटाइटिसको समेत सङ्क्रमण भएकोले कलेजोमा समस्या आएकोले उहाँहरूको जीवन रक्षाको लागि राज्यले उचित ढंगले औषधी व्यवस्था गर्नुपर्ने माग गर्नु भयो । पछिल्लो समयमा एआरभि र एआरटि जस्ता औषधी र सेवाको विस्तारले गर्दा एचआईभि एड्स सङ्क्रमित भए पनि अर्कोलाई सर्ने क्षमतामा धेरै कमी आएको उहाँले बताउनु भयो ।
यसैबिच, भोलि शुक्रबार डिसेम्बर एक तारिख अर्थात् विश्व एड्स दिवस । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने मुल नाराका साथ यस वर्षको विश्व एड्स दिवस पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
शुक्रबार बिहान पोखरामा साइकल र्याली प्रदर्शन हुने भएको छ भने पोखराको बसपार्क र लेकसाइडमा एचआईडि परिक्षण गरिने भएको छ । त्यसै गरी एचआईभि संक्रमित बालबालिकाहरूलाई न्यानो कपडा वितरण, पोखराको पृथ्बीचोक बसपार्कमा औपचारिक समारोह तथा साँझ सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा कण्डम समेत निःशुल्क रुपमा वितरण गरिने भएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्