तपाईँ सुन्दै हुनुहुन्छः

सहिद भीमदत्त पन्तको ९८ औँ जन्म जयन्ती मनाइयो

कञ्चनपुर । आज सहिद भीमदत्त पन्तको ९८ औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका भीमदत्त बाटिका, बेलौरी स्थित भीमदत्त चोक लगायतका क्षेत्रमा स्थापित भीमदत्त पन्तका सालिकहरूमा माल्यार्पण तथा पन्तले गरेका उल्लेखनीय कार्यहरूको चर्चा गर्दै ९८ औँ जन्म जयन्ती मनाइएको हो । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले सहिद भीमदत्त पन्तको जन्म जयन्तीको अवसरमा आइतबार बिहान महाकाली अस्पताल र वेदकोट वृद्धाश्रममा फलफूल वितरण गरेको प्रतिष्ठानका सचिव हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

वि.सं. १९८३ मङ्सिर १० गतेका दिन कारीगाउँ डडेलधुरामा जन्मिनु भएका पन्तले “कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो“ भन्ने नाराका साथ जोताहा किसानहरूको पक्षमा वकालत गर्नु भएको थियो । पन्तको वि।सं। २०१० साउन १७ गते डोटीको बुडरमा टाउको काटी हत्या गरिएको थियो । किसान नेता पन्तलाई सहिद घोषणा गरिनु पर्ने आवाज लामो समयदेखि उठ्दै गरेपछि सरकारले वि।सं। २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । नुन आन्दोलनबाट चर्चामा आउनु भएका पन्तलाई तत्कालीन शासकहरूले हत्या गर्न लगाएको जानकारहरूको भनाइ छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त बाटिकामा राखिएको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा दुई दिन अगाडि मात्रै एक समूहले तोडफोड गरेको थियो । राप्रपा कञ्चनपुरको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोध सभा नाम दिइएको आन्दोलनमा सहभागी एक समूहले सहिद भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको हो । सालिकमा तोडफोड गरेको घटनामा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ । 

किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा अराजक समूहले तोडफोड गरेको घटनाको चौतर्फी विरोध भइरहेको छ । सहिद भीमदत्त पन्तको सम्झनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहिद प्रतिष्ठान, भीमदत्त नगरपालिका लगायतको सहयोगमा महेन्द्रनगरमा भीमदत्त बाटिका र सालिक निर्माण गरिएको छ । कञ्चनपुरकै बेलौरी लगायतका ठाउँहरूमा समेत भीमदत्त पन्तको सालिक तयार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button