गुनासो नआउने गरी कार्यसम्पादन गर्न सार्वजनिक संस्थानहरूलाई अख्तियार प्रमुख राईको निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक संस्थानहरूलाई प्रविधि र सूचना मैत्री बनाउँदै सबल बनाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आयोगको केन्द्रीय कार्यालय टंगालमा आयोजना गरेको सार्वजनिक संस्थानका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त राईले मुलुकमा सुशासन कायम गर्ने दायित्व सबैको भएकाले सकेसम्म अनियमितता सम्बन्धी गुनासो नआउने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा आयोगका आयुक्तहरूले सेवा प्रवाहलाई प्रभावकारी बनाउन देखिएका समस्या र चुनौती समाधानका लागि सक्रियताका साथ लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रममा आयुक्तहरू किशोरकुमार सिलवाल, जयबहादुर चन्द, हरि पौडेल र सुमित्रा श्रेष्ठ अमात्यले यस्तो निर्देशन दिनुहुँदै कसैलाई अनुचित दुःख दिनेगरी आयोगले कहिल्यै काम नगर्ने भएकाले निडर भई आफ्नो कार्यसम्पादन इमानदारीपूर्वक गर्न संस्थानका प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका सचिव रामेश्वर दंगालले सार्वजनिक संस्थानहरूको समग्र अवस्था र देखिएका चुनौतीहरूका बारेमा संक्षिप्त चर्चा गर्नुहुँदै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमको प्रारम्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले विकास निर्माण तथा सार्वजनिक खरिद सम्बन्धी सवालहरू, कार्य संरचनात्मक सुधार तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव भुपाल बरालले सार्वजनिक संस्थानहरूको वर्तमान वित्तीय अवस्था, समस्या र चुनौतीहरूका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न संस्थानका प्रमुख एवं पदाधिकारीहरूले आ–आफ्ना कार्यालयसँग सम्बन्धित समस्याहरू राख्दै आगामी दिनमा आयोगको निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्