तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमणको चपेटामा औद्योगिक क्षेत्र 

नेपालगञ्ज । बाँकेका दुई वटा औद्योगिक क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित औद्योगिक ग्राम अतिक्रमणको चपेटामा परेका हुन् । नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित औद्योगिक ग्रामको न संरक्षण हुन सकेको छ, न त सञ्चालनमै आएका छन् । राजनीतिक संरक्षणमा यी क्षेत्र अतिक्रमित भएका हुन् ।

स्थानीयले भने जतिसक्दो चाँडो सरकारले औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने बताउँछन् । खजुरा गाउँपालिका वडा नम्बर ६ का स्थानीय अब्दुल रसिद बेहनाले सरकारले तत्काल काम थाल्नुपर्ने बताउनुभयो । कब्जा गर्ने नियत अझै देखिएको भन्दै उहाँले काम अघि बढाउन आग्रह गर्नुभयो । २०७६ असोजमा खजुराको वडा नम्बर ६ मा २१ विगाह जमिनमा औद्योगिक ग्राम बनाउने निर्णय भएको थियो । राजनीतिक आडमा निर्माण गरिएका करिब ५ सय छाप्रा सुरक्षाकर्मीले भत्काएका थिए । तर, अतिक्रमण रोकिएको छैन ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले केही राजनीतिक दलले प्रोपोगाण्डाका रुपमा झण्डा गाडेर कब्जा गरेको प्रचारबाजी गरेपनि त्यो सम्भव नभएको बताउनुभयो । उहाँले गाउँपालिकाले त्यहाँ तत्काल केही उद्योगहरू सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

नौवस्ता औद्योगिक क्षेत्रको जग्गा पनि अतिक्रमणमुक्त हुन सकेको छैन । १ सय ११ वटा उद्योग सञ्चालन गर्ने गरी बैजनाथ गाउँपालिकाको नौवस्तामा ३ सय ६५ विगाह क्षेत्रफलमा ८ अर्ब ७ करोड रुपैयाँ लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ । तर, काम अगाडि बढाउन खोज्दा निरन्तर अवरोध भइरहेको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश केसीले फिल्डमा खटिने कर्मचारीहरूलाई स्थानीयले पटक पटक अवरोध गरिरहेको बताउनुभयो । रिपोर्टिङ गर्न गएका, डाटा कलेक्सन गर्न गएका कर्मचारीलाई काम गर्न नदिने गरेको केसीको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button