तपाईँ सुन्दै हुनुहुन्छः

गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाइते, नियन्त्रणमा लिई चिडियाखाना लगियो

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि–३ स्थित गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । एक्कासी बस्तीमा आइपुगेको चितुवाको आक्रमणबाट घाइते हुनेहरूमा गठ्ठाघर बस्ने ३३ वर्षिया सङ्गीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल छन् । 

घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । प्रविन आयल स्टोरको उत्तरतर्फ दुई वटा घरको चेपमा आज बिहान जङ्गली चितुवा फेला परेको थियो । स्थानीय पवित्रा सुनारको घरको कम्पाउण्डभित्र उक्त चितुवा फेला परेको हो ।

स्थानीयले खबर गरेपछि चितुवा नियन्त्रणमा लिन बिहानै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरको टोली घटनास्थलमा पुगेको थियो । 

पछि चितुवालाई डिभिजन वन कार्यालय काठमाडौँको प्राविधिकसहितको टोलीले चार पटक डार्ट हानेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सलिना कडालले बताउनुभयो ।

चितुवा गर्भिणी जस्तो देखिएको र उद्धार गरी चिडियाखाना लगिएको छ । चितुवा नियन्त्रणका लागि काठमाडौँका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो । 

चिडियाखाना लगेर सुरुमा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सामान्य रहेछ भने जङ्गलमा लगेर छाडिने वन अधिकृत पराजुलीले बताउनुभयो । चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड लागेको थियो । प्रहरीहरू पनि उल्लेख्य सङ्ख्यामा परिचालित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button