तपाईँ सुन्दै हुनुहुन्छः

११ किलो अवैध सुन प्रकरणमा थप एक महिला पक्राउ

दोलखा । दोलखाबाट बरामद भएको ११ किलो अवैध सुन प्रकरणमा थप एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका ५ की महिमा माझी रहेकी छिन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । सुन तस्करीहरूले सुन बेचेर ल्याएको रकम डलरमा साटेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । 

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताउनुभयो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ । 

दोलखाबाट गत असोजमा ११ किलो अवैध सुन बरामद गरेको प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी र दोलखा प्रहरीले गरिरहेको अनुसन्धानबाट सुन ओसारपसारमा संलग्न केही व्यक्ति अझै फरार रहेको पाइएको छ । 

उनीहरूको खोजी भइरहेको डिएसपी खड्काले बताउनुभयो । पक्राउ परेकाहरू विरुद्ध सुन चोरी–पैठारी तथा सङ्गठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button