पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न दिन उच्च अदालत पोखराको आदेश

कास्की । उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबिसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो ।
व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले दिएको रिट निवेदन उपरमा भएको बहसपछि भट्टराईले यस्तो आदेश दिनुभएको हो ।
यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गरेका गर्नुभएको थियो । आदेशमा भनिएको छ,‘निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू ।’
निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटोका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरूका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीहरूका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सो को अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्न अदालतले आदेश दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्