तपाईँ सुन्दै हुनुहुन्छः

चितवनबाट हङ्गकङ्ग निर्यात गर्दै सयपत्री फूल

चितवन  । तिहारलाई लक्षित गर्दै  चितवनका फूल खेती किसानले  फूल हङ्कङ निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२ पदमपुरका किसान गोविन्द बाँस्तोला सहितका किसानले  तिहारका लागि लगाइएको सयपत्री फूल हङ्कङ निर्यात गर्न लाग्नु भएको हो  ।

बिहीबार औपचारिक रुपमा नगरप्रमुखको प्रमुख आतिथ्यताको निर्यातको शुभारम्भ गर्न लागिएको बास्तोलाले जानकारी दिनुभयो । सयपत्री फूल चितवनबाट पहिलोपटक हङ्गकङ्ग पठाउन लागिएको उहाँको भनाई छ । ’अहिले पहिलो चरणमा स्याम्पलको रुपमा हङ्गकङ्गमा एकहजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौँ, उहाँले भन्नुभयो, त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चारहजार माला पठाउंँनेछौं ।’ हङ्गकङ्गमा नेपाली व्यवसायीको अर्डर अनुसार माला निर्यात गर्न लागिएको उहाँले बताउनु भयो । 

बाँस्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गर्नुभएको छ  । उहाँले फूलमाला फार्म नेपालको कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आउनु भएको छ । हाल कालिका नगरपालिकाका किसानको फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उहाँको भनाई छ । ‘यो सुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसियन नेपालका सदस्य समेत रहनुभएका बास्तोलाले भन्नुभयो, राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’ 

सयपत्रीका दुई जात टेनिस बल र कलकट्टे फूल हङ्कङ निर्यात गर्न लागिएको उहाँले जानकारी दिनुभयो  । यो जातको फूलको माला तिहारमा बढी लगाइने गरिन्छ  । उहाँका अनुसार कार्तिक २४ गते राती काठमाडौँबाट हङ्कङ जाने जहाजमार्फत फूल पठाइन्छ । त्यसका लागि कार्तिक २३ गते नै निर्यात गरिने फूलको व्यवस्थापन गरिनेछ । 

यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ्गको कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उहाँको भनाई छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलोपटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताउनु भयो । ‘यो चितवन, समग्र नेपालकै किसानको लागि खुसीको कुरा हो, उहाँले भन्नुभयो, यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’

हङ्गकङ्ग सँगै  थाइल्यान्डबाट पनि फूलको माग आएको उहाँले बताउनु भयो  । गोविन्दले भन्नुभयो , ‘पहिला हामी हङ्कङ निर्यात गर्छौँ, कस्तो हुन्छ हेरौँ अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात पनि गर्नेछौँ ।’

नेपाली एक सय रुपैयाँ माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएको बताउनु भयो  । उहाँले  भन्नुभयो , ‘ अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौँ । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने हाम्रो अर्को उद्देश्य पनि हो ।’ 

फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती लगाइएको  जानकारी दिनुभयो  । 

यस वर्षको तिहारमा चितवनलाई यहीँको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एसोसिएसनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button