रामग्राममा सुविधायुक्त रङ्गशाला निर्माणको शिलान्यास
नवलपरासी।पश्चिम् नवलपरासीको रामग्राममा सुविधा सम्पन्न फुटबल रङ्गशाला निर्माण हुने भएको छ ।रामग्राम नगरपालिका वडा नम्बर ४ को जितपुरमा रङ्गशाला निर्माणका लागि नगरप्रमुख धनपत यादवले बुधबार शिलान्यास गर्नु भएको हो ।कुल ५ करोड १० लाख २६ हजार रुपियाँको लागतमा रंगशाला निर्माण हुने भएको नगरपालिकाले जनाएको छ ।
पाल्हि क्याम्पस परिसरमा झण्डै ६ बिघा भन्दा बढीको क्षेत्रफलमा विभिन्न पूर्वाधार सहितको रङ्गशाला निर्माण हुने भएको हो।६ सय दर्शक सिट क्षमताको प्याराफिट,चेन्जिङ रुम,शौचालय र व्यापारिक सटर सहितको संरचना सहितको कभर्डहल निर्माण गरिने नगरपालिकाका इन्जिनियर माधव न्यौपानेले जानकारी दिनुभयो ।रङ्गशालाका संरचना अपाङ्गमैत्री रहने न्यौपानेले बताउनु भयो ।
नगरभित्रका खेलप्रेमी र स्थानीय स्तरबाट दक्ष खेलाडी उत्पादनका लागि समेत रंगशालाको आवश्यकता महसुस गरी योजना अघि बढाइएको नगरप्रमुख धनपत यादवले बताउनु भयो ।”नगरपालिकाले भौतिक विकासलाई मात्र नभएर खेलकुद लगायतका समग्र बिद्यालाई समेट्नु पर्दछ तसर्थ रामग्राम नगरपालिका खेलकुदको हबका रुपमा पनि अघि बढोस्,खेलकुदका माध्यमबाट यहाँका खेलाडीहरू राष्ट्रिय स्तरमा समेत छनौट हुन भन्ने हाम्रो चाहाना हो”नगरप्रमुख यादवले भन्नू भयो ।सीमित श्रोतका बिच सबै क्षेत्रलाई समेट्दा एकै पटक बिकास सम्भव त छैन तर आम नागरिकको मूलभूत कुरालाई हामीले प्राथमिकतामा राख्ने छौ “यादवको भनाई थियो।
अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार र नगरपालिकाले समानिकरण अन्तर्गत १/१ करोड बजेट बिनियोजन गरेकोमा माटो फिलिङ र पेस्कीमा प्रदेशबाट उपलब्ध भएको रकमबाट ६० लाख रकम खर्च भएर विविध कारणले काम अघि बढ्न नसकेपछि हाल डिपिआर संशोधन गरेर रंगशाला निर्माणका लागि नगरले नै बजेट बिनियोजन गरेको नगरका इन्जिनियर न्यौपानेले जानकारी दिनु भयो ।
आगामी वर्षको भदौ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ब्रम्हायणी बिरुपाक्ष विज्ञान जे भि झापाले निर्माणको ठेक्का लिएको छ।समयमै निर्माण सम्पन्न हुनेमा नगरले विश्वास लिएको छ।








प्रतिक्रिया राख्नुहोस्